काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यौन दुर्व्यवहारको आरोप खेपेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बारेमा बोलेका छन् । बिहीबार नेकपा बनेपा नगर कमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताएका हुन् । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले गल्ती गर्नेले नै कारबाही बोहोर्नुपर्ने तर्क गर्दै उनले भने  ‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्‍यो त ?, त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ,’ व्यक्तिको नाम नलिइकन उनले भने, ‘कहिलेकाहीं गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि, हामीलाई के मतलव ?’

त्यस्तै, उनले यस्ता घटनाबाट चिन्तित र तरगिंत नहुन कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । उनले समाजमा राम्रा मान्छे र नराम्रा मान्छे हुने हुनाले यस्ता घटनाहरु समाजमा भइरहने बताए ।