शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ ।
गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।
'यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो,'प्रहरी निरीक्षक भट्टले भने, 'त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।'
प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मंगलवार राति नै नियन्त्रणमा लिएको जनाएको छ । 'शव भारतबाट आइसकेपछि परीक्षणलगायतका प्रक्रिया अघि बढ्छ, 'भट्टले भने, 'पीडित पक्षको जाहेरीका आधारमा कारवाही अघि बढ्छ ।'
फेसबुक पेज Like गर्नुहोस