काठमाडौं – त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल खुल‍ेको छ। शुक्रबार यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परे पछि बन्द हुन पुगेको विमानस्थल केही समय अघि खुलेको हो।

धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै ७ घण्टादेखि विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको थियो। निरन्तरको प्रयासपछि विमानलाई निकाल्न सफल भएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको थियो। अहिले विमानलाई हटाएपछि धावन मार्गको सुरक्षा चेकजाँच भइरहेको महाप्रबन्धक क्षेत्रीले बताए।उनका अनुसार अहिलेकै अवस्थामा उडान गर्न सकिन्छ तर ‘सेफ्टी’का कारण रोकिएको छ।

नेपालगञ्जबाट काठमाडौँ आएको विमान फ्लाइट नं.एनवाइटी-४२२ एटीआर ७२–५०० अवतरणका क्रममा धानमार्गमा चिप्लिएर २० मिटर पर पुगेको थियो। जहाजमा चालक दल ४ जना सदस्यसहित ७० जना यात्रु रहेका थिए। जहाज विमानस्थलको कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा 'डेल्टा' नामको ट्याक्सीवे नजिकै धावनमार्गबाट बाँयातर्फ घासेमैदान तर्फ चिप्लिएको थियो।

दुर्घटनामा तीन जना यात्रु सामान्य घाइते भएका छन्। ३१ वर्षीया सिना मगर, ५६ वर्षीया बिनादेबी भण्डारी,५० वर्षीय कृष्ण प्रसाद काफ्ले घाइते छन्। उनीहरुको उपचार भइरहेको छ। अन्य यात्रुलाई सकुशल उद्धार गरिएको थियो ।

विमानस्थल अवरुद्ध भएपछि काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भारतको लखनउ, कोलकाता, बंगलादेशको ढाका, चिनियाँ विमानलाई ल्हासा र अन्यहरु विमानहरुलाई बैङ्कक लगायतका गन्तव्यमा ‘डाइभर्ड’गरिएको एयर ट्राफिक कन्ट्रोलका सिताराम भण्डारीले जानकारी दिए।

काठमाडौं अवतरण गर्न आइरहेका अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज विमानस्थल बन्द भएका कारण धेरै समयदेखि होल्ड गरिए पछि डाइभर्ट गरिएको ट्राफिक कन्ट्रोलर भण्डारी बताए। कतार एयरवेज, थाई एयरवेज, विमान बंगलादेश लगायतका आधा दर्जन बढी जहाजहरुलाई डाइभर्ट गरिएको थियो।