काठमाडौं - टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले न्युन धरौटीमा तारेखमा रिहा गरेको हो। 

रविसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की धरौटीमा रिहा भएका हुन्। रिहाइको आदेश भएपनि उनीहरुले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो। 

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले तीनभर बहस गरेका थिए।  

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो। रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट  पक्राउ गरेको थियो। लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।

चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।  

पत्रकार पुडासैनीले आत्महत्याअघि अस्मिता, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेलमाथि प्रहरीले १० तीनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो।