काठमाडौं - २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ।

बिहीबार समूह ‘ए’ को अन्तिम खेलमा इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपालको यात्रा समूह चरणमै सीमित बनेको हो।

जापानको कोमाकीस्थित पार्क एरिनामा नेपाली समयअनुसार दिउँसो ४ बजे सुरुभएको खेलमा नेपाल पहिलो सेटमा २५–१२, दोस्रोमा २५–२१ र तेस्रो सेटमा २५–२० ले पराजित भयो। समूह चरणको पहिलो खेलमा पनि नेपाल आयोजक जापानसँग ३–० कै सोझो सेटमा हारेको थियो।

अब नेपालले वरियताका लागि खेल्नेछ। त्यसका लागि प्रतिद्वन्द्वी टोलीको टुंगो लाग्न बाँकी छ। एफआईभीबीको पछिल्लो विश्व वरीयतामा इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छन्। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो लगातार दोस्रो सहभागिता हो।

यसअघि सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो। एसियाडमा नेपालले २२ खेलमा ५६ महिला र ८० पुरुष गरी १३६ खेलाडी सहभागी गराएको छ।