काठमाडौं - रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएको विपद् तथा जलवायु परिवर्तनका विषयमा काम गर्न संसदीय विशेष समिति गठन गर्नेबारे दलहरूबीच छलफल सुरु भएको छ।
सिंहदरबारस्थित शिक्षा समितिको हलमा प्रारम्भिक छलफलमा नेताहरू जुटेका हुन् ।
छलफलमा संसदमा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक संलग्न रहेको सत्तारुढ दल रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्राकृतिक विपद्पछिको अवस्थामा काम गर्ने गरी दुई वटा सर्वदलीय संयन्त्र बनाउने विषयमा छलफल र निर्णय भएको थियो ।
एउटा संसद् बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र अर्को संसद् भित्र रहेका दलहरू रहेको संसदीय समिति बनाउने निर्णय भएको थियो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ ।
लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन् ।
यसैगरी अर्को एक साताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई सिफारिस गर्न आग्रह गर्ने भनिएको थियो ।
रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि त्यसको भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए।
बैठकमा लामिछानेले विपद्पछिको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकारलाई सहयोग गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र तथा संसदीय समिति गठनको प्रस्ताव गरेका थिए।

.gif)


