विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो। कार्कीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले समर्थन गरेका छन्। कोशी प्रदेश सभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन्। दुवै दलका सांसदको समर्थन पाएपछि कार्कीले ५७ मत प्राप्त गरेका हुन्।
नेपाली कांग्रेसका सांसदले भने मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरेका छन्। विपक्षमा २२ मत परेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद मतदानमा तटस्थ बसेका थिए।
प्रदेश सभामा सभामुखसहित राप्रपाका पाँच सदस्य छन्। जनता समाजवादी पार्टी (जसपा)की एक मात्र सांसद निर्मला लिम्बु भने सोमबारको बैठकमा अनुपस्थित थिइन्।
९३ सदस्यीय कोशी प्रदेश सभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा ८३ सांसद उपस्थित थिए। मतदानबाट विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ।

.gif)


