काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्युआर पेमेन्ट सुविधाको सुरुवात गरेको छ।

बैंकले फोन-पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटकलाई लक्षित गरी क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्युआर पेमेन्ट प्रणालीको साउन १ देखि नै लागू हुने गरी शुभारम्भ गरेको जनाएको छ।

यस सेवाअन्तर्गत भारतीय ग्राहकहरूले भिम (BHIM) र फोन-पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरूबाट गरिमा विकास बैंकको क्युआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरूमा सुरक्षित र सुविधाजनक रूपमा रकम भुक्तानी गर्न सक्नेछन्। बैंकले यो सेवा छिटो, छरितो र भरपर्दो रूपमा उपलब्ध गराउन आफ्ना व्यावसायिक ग्राहकसँग सहकार्य गरेको हो।

यस प्रकारका सेवाहरूले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बैंकले जनाएको छ।