आलमलाई आज पनि अदालत उपस्थित गराइने
काठमाडौं - रौतहट बमकाण्डका मुख्य आरोपित काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई बयानको लागि आज पनि अदालत उपस्थित गराइने भएको छ ।
जिल्ला अदालत रौतहटमा मंगलबार ढिलोगरी सुरु भएको आलमको बयान परिचयभन्दा अघि बढ्न सकेको थिएन ।
प्रहरीले आलमलाई मंगलबार बिहान सवा १० बजे जिल्ला अदालतमा उपस्थित गराए पनि बयान ३ बजेदेखि सुरु भएको थियो । उनका कानुन व्यवसायीले मुद्दाको मिसिलको पूरै नक्कल प्रतिलिपि उपलब्ध गराउन भनेपछि बयान सुरु गर्न ढिला भएको थियो ।
न्यायाधीश दीपक ढकालको इजलासमा झन्डै ४५ मिनेट चलेको बयानमा आलमसँग न्यायाधीश ढकालले विभिन्न ९ वटा प्रश्न सोधेका थिए ।
परिचयकै क्रममा कार्यालय समय सकिएपछि बयानका लागि आलमलाई बुधबार फेरि अदालत उपस्थित गराइने भएको हो ।
सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस