काठमाडौं - भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न चीनले ५० टन आपत्कालीन राहत सामग्री र चार जना सुरुङ उद्धार विज्ञ नेपाल पठाएको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० सैन्य परिवहन विमान राहत सामग्रीसहित आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विज्ञसँगै उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ।

चीनको छेङ्दु श्वाङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्।

चीनले पठाएको राहत सामग्रीमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, तयारी खाद्य सामग्री र प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान सामग्री रहेका छन्। ती सामग्रीको कुल तौल ५० टन रहेको जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए। सो अवसरमा नेपाल आएका चिनियाँ सुरुङ उद्धार विज्ञ टोलीलाई समेत स्वागत गरिएको थियो।

भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ। बाढी र लेदोका कारण सुरुङलगायत कठिन क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेका बेला चीनबाट विशेषज्ञ टोली र उद्धार उपकरणसमेत आएपछि खोज तथा उद्धारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।