कोरोनामुक्त युवकमा फेरि देखियो संक्रमण, अस्पताल भर्ना
वीरगन्ज - १४ दिनपछि कोरोना भाइरसलाई जितेर नारायणी अस्पतालबाट घर फर्किएका एक युवकमा पुन संक्रमण पुष्टि भएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय ती युवक अस्वस्थ्य भएपछि गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो ।
उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । उनी बैशाख ११ गते मात्र डिस्चार्ज भएका थिए ।
डिस्चार्ज भएर घर फर्किएको ४ दिनपछि ती व्यक्तिमा ज्वरो आएपछि चिकित्सकले घरमै आएर परिक्षण गरेको थियो । सबै परिवारको स्वाब परिक्षणमा ती युवकको मात्र पोजेटिभ आएपछि वैशाख २० गते राति उनलाई एम्बुलेन्समार्फत् अस्पताल ल्याइएको अस्पताल स्रोतले बताएको छ ।
दिल्लीबाट करिब ४० दिन पहिले रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो ।
अस्पतालमै राखेर उपचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस