काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३४४ वटा शव तथा मानव अङ्ग फेला परेका छन् ।

नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा शव तथा मानव अङ्ग खोज्ने कार्यसँगै बेपत्ता व्यक्तिको पहिचान र शव व्यवस्थापनका लागि डीएनए संकलनलाई समेत तीव्रता दिइएको हो । 

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४८९ जना पुरुष, २६९ जना महिला, ५२ जना बालक र ३३ जना बालिका रहेका छन्। त्यस्तै बाढीका कारण क्षतविक्षत भएका ५०१ वटा आंशिक मानव अङ्ग समेत फेला परेका छन्।

फेला परेका शवमध्ये १ हजार ३० वटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचान तथा मृतकको सनाखत सुनिश्चित गर्न डीएनए संकलन कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। हालसम्म १ हजार २६० मृतक र मृतकका ९७२ आफन्त गरी कुल २ हजार २३२ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीको तथ्यांक छ।

डीएनए परीक्षणबाट पहिचान हुन नसकेका शव तथा मानव अङ्गको सनाखत गर्न र बेपत्ता व्यक्तिका परिवारलाई यथार्थ जानकारी उपलब्ध गराउन सहयोग पुग्ने प्रहरीको विश्वास छ।