काठमाडौं - अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे र टाँकुरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार लगातारको वर्षाका कारण गएराति दुवै स्थानमा पहिरो खसेको हो। पहिरोका कारण कान्तिलोकपथमा सवारी आवागमन प्रभावित भएको छ।
त्यस्तै, आज बिहान टिकाभैरवमा रुख ढलेपछि सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कान्तिलोकपथको मकवानपुर खण्डमा भने हाल कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन आवश्यक समन्वय भइरहेको छ।




