काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा तिर्ने समयावधि बढाउने भएको छ । लकडाउन लम्बिँदै जाँदा ऋणीले आफ्नो व्यवसाय सञ्चालन गर्न नपाएकोले यसको अवधि बढाएर असोज मसान्तसम्म पुर्याउने तयारी गरिएको हो ।

राष्ट्र बैंकले चैत १६ गतेसबै प्रकारका कर्जाको साँवा, ब्याज, किस्ता तिर्ने समयावधि असारसम्ममा बढाएको थियो । साथै ऋणीले मासिक भुक्तानी गरेमा उसलाई ब्याज रकममा १० प्रतिशत छूट दिने घोषणा गरेको थियो । साथै लकडाउन अवधिको हर्जाना तथा कुनै किसिमको शुल्क नलिन वैंक तथा वित्तीय संस्थालाई निर्देशन समेत दिएको थियो । अब त्यो समयाअवधि थप गरेर असोज मसान्तसम्म पुर्याउने विषयमा छलफल भैरहेको राष्ट्र वैंकका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसको लागि वैंकर्स एशोसियनसंग समेत छलफल गरेर निर्णय गरिने बताइएको छ ।

तत्कालै लकडाउन खुलिहाले पनि व्यवसाय चलेर टिकाउ हुन समय लाग्ने भएकाले किस्ता तिर्ने समय अवधि बढाउन लागिएको राष्ट्र वैंकका अधिकारीहरुले जानकारी दिएका छन् । अहिले ठप्प भएका व्यवसाय सञ्चालन भएर आम्दानी गर्न एक–डेढ वर्ष लाग्ने भएकाले ब्याजलाई पूँजीकरण गर्ने वा ऋण तिर्ने अवधि बढाउने वा आम्दानी भएपछि तिर्ने भन्नेबारे निर्णय गर्न आन्तरिक छलफल भैरहेको बताइएको छ ।

राष्ट्र बैंकले कोरोनाले समग्र अर्थतन्त्रमा पारेको पारेको प्रभावको बारेमा समेत अध्ययन अनुसन्धान गरिरहेको छ । त्यसको लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललको नेतृत्वमा एउटा समिति नै बनाइएको छ । असारमा सार्वजनिक हुने मौद्रिक नीतिमा त्यसको प्रभावलाई मूंल्याकन गर्दै वैंकिङ क्षेत्रको राहतको लागि विशेष प्याकेजका कार्यक्रमहरु घोषणा गर्ने तयारी राष्ट्र वैंकले गरेको छ ।