काठमाडौं-सरकारले रसुवा बाढीबाट प्रभावित भएका ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ।

सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावाससँग समन्वय गरी विदेशी नागरिकको तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिए।

उनका अनुसार सरकारले बाढीपछि उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक प्राविधिक सहयोग मागेको छ। विशेषगरी सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि दक्ष ‘टनेल रेस्क्यु’ टोली आवश्यक रहेको उनले बताए।

त्यस्तै, पुरिएका शवको खोजीका लागि आधुनिक प्रविधि, शव सुरक्षित राख्न थप फ्रिजर तथा मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षणका उपकरण र किट आवश्यक रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

केही फ्रिजर प्राप्त भइसकेको र थप फ्रिजर आउने क्रममा रहेको उनले बताए।

राहत वितरणका लागि आवश्यक सामग्रीको व्यवस्थापनसमेत भइरहेको मन्त्रालयले जनाएको छ। दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भने ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ (PDNA) पूरा भएपछि मात्रै थप सहयोग तथा योजना तय गरिने प्रवक्ता क्षेत्रीले स्पष्ट पारे।