चितवन - भोटेकोशी बाढीले बगाएर ल्याएका र नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शव अब देवघाटको जंगलमा व्यवस्थापन सुरु भएको छ।
चितवनमा मात्रै हालसम्म २३३ शव फेला परेका छन्। तीमध्ये पाँचजनाको मात्रै पहिचान खुलेको छ भने बाँकी शव लामो समयसम्म राख्दा सड्न–गल्न थालेका छन्। शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला सुरक्षा समितिले शव व्यवस्थापन सुरु गरेको हो।
शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जंगलमा स्थान छनोट गरिएको छ। सुरक्षाकर्मीको निगरानीमा दुईवटा डोजर प्रयोग गरी तीनवटा खाडल तयार पारिएको छ।
यद्यपी शवलाई व्यवस्थापन गरे पनि पहिचानको प्रक्रिया भने बन्द हुने छैन ।
प्रत्येक शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरी सुरक्षित राखिनेछ। भविष्यमा कुनै परिवारले आफ्नो आफन्त भएको दाबी गरेमा डीएनए परीक्षणबाट पहिचान खुलाउन सकिनेछ।
पहिचान पुष्टि भएमा आवश्यक प्रक्रिया पूरा गरी शव निकालेर परिवारलाई बुझाउन सकिने गरी अभिलेख तथा नमुना सुरक्षित राखिने छ ।
भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका शव नारायणी नदीका विभिन्न स्थानमा भेटिएका हुन्। लगातार नदी किनारमा शव भेटिन थालेपछि चितवनमा शव व्यवस्थापन ठूलो चुनौती बनेको थियो।
लामो समयसम्म शव राखिरहँदा सड्ने–गल्ने क्रम बढेपछि दुर्गन्ध फैलिएको र संक्रमणको जोखिमसमेत देखिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
त्यसैले तत्काल स्वास्थ्य जोखिम नियन्त्रण गर्न पहिचान नखुलेका शवलाई सुरक्षित र व्यवस्थित रूपमा व्यवस्थापन गर्न लागिएको हो।

.gif)



