काठमाडौँ - सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र ल्याउन सहकार्य गरेका शक्तिहरूबीच हातेमालो आवश्यक भएको बताएको छ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव सचिव गोकर्ण विष्टले यस्तो आवश्यकता औँल्याएका हुन्। 

लोकतन्त्र नचाहने शक्तिहरूले पूर्वराजा फर्काउने प्रयास गरिरहेको भन्दै लोकतन्त्र पक्षधरबीच गम्भीर सहकार्य र हातेमालो गर्न जरुरी रहेको उनले औँल्याए।

‘विरोध गर्ने अधिकार र चेत पनि लोकतन्त्रबाटै प्राप्त भएको छ। लोकतन्त्रभित्रै लोकतन्त्रको विरोध गर्ने प्रवृत्ति पनि देखा परेका छन्’, उनले भने, ‘लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरू गम्भीरतासाथ हातेमालो गर्न जरुरी छ।’

विष्टले  लोकतन्त्रकै कारण जनता सार्वभौम भएको भन्दै लोकतन्त्रबिना जनता स्वतन्त्र र आत्मसम्मान प्राप्त भएको बताए।

‘तर आज यो कुरालाई देख्न नचाहने कतिपय शक्तिहरूले पूर्वराजालाई फर्काउने कोसिस गरेका छन्, आऊ भन्ने अपिल गरेका छन्’, उनले भने, ‘पूर्वराजाले पनि फेरि राजा बन्ने चाहना व्यक्त गरेका छन्।’

सांसद विष्टले सबै जिम्मेवारीबाट माओवादी उम्कन नमिल्ने भन्दै जवाफ पनि फर्काएका छन्।  संसद्लाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सरकारमा रहेका दलहरूकै कारण राजावादीहरू सलबलाएको आरोप लगाएका थिए। 

त्यसको प्रतिवाद गर्दै उनले एउटै डुङ्गामा यात्रारत सबै डुब्नुपर्छ भन्ने हेक्का राख्न प्रचण्डलाई आग्रह गरे।