काठमाडौं - नेपाली कांग्रेसले पार्टी सदस्य बन्न न्यूनतम १८ वर्षउमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था स्पष्ट गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा पार्टीको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ४ को उपधारा १(क)(१) मा पार्टी सदस्यका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

सोही व्यवस्थाअनुसार इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईंको जिम्मेवारी स्थगित गरिएको समितिले जनाएको छ।

समितिका अनुसार चापागाईंले १७ वर्ष उमेर पूरा गरे पनि १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि उनको निर्वाचित जिम्मेवारी विधानबमोजिम स्थगित गरिएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालकाअनुसार नागरिकताको विवरणअनुसार चापागाईंले आगामी २०८३ माघ १८ गते १८ वर्ष उमेर पूरा गर्नेछन्। त्यसपछि उनले चाहेमा कांग्रेसको सदस्यता कायम गर्न सक्ने समितिले स्पष्ट पारेको छ।