काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सीमा अतिक्रमणबारे उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन आइतबार सिंहदरबार जानेक्रममा आफूहरुलाई पक्राउ गरिएकामा आपत्ति जनाए ।

‘हिजोको घटना पूर्वानुमानभन्दा बाहिरको घटना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्द लाठीचार्ज भयो’–उनले भने ।

रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनेर समय लिएर नै आफूहरु त्यसतर्फ गएको उनको भनाइ छ । प्रहरीले ‘माथिको आदेश’ भन्दै आफूहरुमाथि धरपकड गरेको बताउँदै उनले अन्धाधुन्द लाठीजार्च गर्दा आफूहरुतर्फका ८ जनाभन्दा बढी नेता–कार्यकर्ता घाइते भएको दाबी गरे ।

‘भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ–संस्था, बौद्धिक व्यक्तिहरु, ख्यातिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरि यो विषयलाई उठायौं–‘गजुरेलले भने–‘सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला, हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’

राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको व्यानर च्यातिएको उनको जिकिर छ ।उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने बताए ।

आफूहरुका लागि राष्ट्रियताको मुद्दा नै प्रधान भएको गजुरेलले सुनाए ।‘हाम्रो लागि देश ठूलो कुरा हो । राष्ट्रिय स्वाधिनताको रक्षा हाम्रो पार्टीको पहिलो उद्देश्य हो । कालापानी, लिम्पियाधुरा, लिपुलेक ‘हाम्रो हो’ भनेर भन्न पाइँदैन ? यसो भन्दा हामीले के अपराध गर्‍यौं ?’–उनको प्रश्न छ ।

माइतीघर मन्डलामा पुसको जाडोमा सर्लाहीका उखु किसानहरु आन्दोलित भएको भन्दै उनले वर्तमान सरकारलाई त्यो सुन्ने धैयर्ता नभएको जिकिर गरे ।नेपाल अमेरिकाको सामरिक रणनीतिमा सामेल हुँदा नेपालको असंलग्नताको नीति भत्किने पनि उनको टिप्पणी छ । उनले नेपाललाई विदेशीको रणभूमि हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।

सबै नेपाली एकजुट भएर लागे कालापानीबाट भारतीय सेना हटाउन सकिने उनले उल्लेख गरे ।देश बचाउने आन्दोलन गर्दा आइतबार आफूहरुमाथि गरिएकोजस्तो व्यवहार नदोहोर्‍याउन उनले चेतावनीसमेत दिए । ‘हिजोको घटना दोहोर्‍याए यो सरकारको खैरियत छैन’–उनले भने ।

गजुरेलसहित क्रान्तिकारी माओवादीका केही नेता–कार्यकर्तालाई प्रहरीले आइतबार सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो । सोमबार बिहान उनीहरुलाई छाडिएको हो । उनीहरुलाई निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।