रुपन्देही-नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि सुरु भएको छ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यास मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।
अभ्यासको शुभारम्भ श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन् । विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोगलाई अभ्यासको मुख्य प्राथमिकतामा राखिएको छ ।
अभ्यासका क्रममा दुवै देशका सैनिकले सैद्धान्तिक ज्ञान, व्यावहारिक सीप र अनुभव आदानप्रदान गर्ने नेपाली सेनाले जनाएको छ।
नेपाल र भारतमा पालैपालो वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘सूर्यकिरण’ अभ्यासको सुरुवात विसं २०६७ मा भएको थियो । यसको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

.gif)



