काठमाडौं - निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ आईजीपी मनोजकुमार केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।

यसअघि मंसिर ८ गतेका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। प्रहरी महानिरीक्षक केसीलाई अदालतको म्याद तामेल नभएको भन्दै प्रहरीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले नयाँ म्याद जारी गर्न माग गरेका थिए ।

त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन तथा अर्को पेसीमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न आदेश दिएको थियो ।

साथै, महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न पनि अदालतले भनेको थियो ।