प्रधानमन्त्री ओलीद्वारा कोशी प्रदेशसभा बैठकमा सम्बोधन
विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्। कोशी प्रदेशसभा बैठकलाई मंगलबार विशेष सम्बोधन गर्दै उनले नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख गरे।
ओलीले प्रदेशसभा बैठकलाई १ घण्टा ५ मिनेट सम्बोधन गरेका थिए। त्यस क्रममा उनले वादविवादमा अल्झिन मन नभएको र देशको मुहार फेर्नेतर्फ आफू केन्द्रित भएको उल्लेख गरे। जनताका कुरा सुन्न र जनताका भावनालाई सम्बोधन गर्न आफूले चाहेको ओलीको भनाइ छ।
उद्यमशीलता बिना मुलुक अघि बढ्न नसक्ने उल्लेख गर्दै ओलीले अरुको सहायतामा बाँच्छु भन्ने कुरालाई त्याग्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले नेपाली अब आफ्नै बलमा बाँच्नुपर्ने बताए। ‘विभिन्न उत्पादनसँग कृषकलाई जोड्न सकिन्छ। साना उद्योग स्थापना गर्न जनतालाई सहयोग गर्नुपर्छ। नजानेमा सिकाउनुपर्छ। जनप्रतिनिधिले पुलको काम गरौं। यसो भयो भने जनतालाई विकासमा जोड्न सकिन्छ,’ ओलीले भने। भावनामा बगेर नभइकन देशलाई अघि बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ।
फेसबुक पेज Like गर्नुहोस