वीरगन्ज - जिल्ला प्रशासन कार्यालय, पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

एकैदिन ३९ जनामा संक्रमण देखिएपछि मंगलबार साँझ पर्सा जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जनाइएको छ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।

त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ । यसअघि बारा जिल्लाले पनि निषेधाज्ञा जारी गरिसकेको छ ।