काठमाडौं - दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति हाल काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

शुक्रबार राती स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार दाङका गढवा वडा नम्बर ४, ५ र तुलसीपुर-७ निवासी क्रमशः २३, ३६ र ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो । तीमध्ये तुलसीपुर-७ का ३४ वर्षीय पुरुष टिचिङ अस्पतालमा कार्यरत रहेको खुलेको हो ।

तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार तुलसीपुर वडा नम्बर ७ घर भएका ती व्यक्ति हाल काठमाडौंकै एक हस्पिटलमा कार्यरत छन्। उनी अस्पतालमा सफाइकर्मीका रुपमा कार्यरत रहेको मेयर पाण्डेका प्रेस सल्लाहकार वसन्त आचार्यले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नगरप्रमुख पाण्डेले लखेका छन्, ‘तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का कारोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक हस्पिटलमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ।’

यो समेत गर्दा काठमाडौं उपत्यकामा ४ दिनभित्र ७ वर्षका दुई बालकसहित ७ कोरोना संक्रमित फेला परेका छन्।