काठमाडौं - रास्वपाका संस्थापक महासचिव डा. मुकुल ढकालले पार्टी खोल्नुअघि सभापति रवि लामिछाने ‘राजतन्त्रलाई समातेर जाने लाइनमा’ रहेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत रास्वपाबाट निकालिएका ढकालले पार्टी स्थापनाको प्रारम्भिक चरणमा पार्टीको राजनीतिक मार्गनिर्देशनका विषयमा गहन छलफल भएको बताउँदै सभापति लामिछानेमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले राजतन्त्रका विषयमा रविले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुराकानीसमेत गरेको खुलासा गरे । तर आफूले राखेको प्रस्तावअनुसार पूर्वराजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गरिएको उनले बताए ।

ढकालका अनुसार, रास्वपा गठन हुनु पूर्व लामिछानेले राजतन्त्रको विकल्पलाई लिएर गम्भीर छलफल गरेका थिए। ‘त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो,’ ढकालले उल्लेख गरे।