काठमाडौं - नेपालमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले आपतकालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना नेपालसँग नियमित रूपमा साझा गर्ने भएको छ।

जलस्रोत मन्त्रालयका अनुसार चिनियाँ पक्षले उपलब्ध गराउने सूचनामा नदीको बहावमा अवरोध सिर्जना भएका स्थान तथा हिमतालका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी विवरणसमेत समावेश हुनेछन्। यसबाट सम्भावित जोखिमको समयमै आकलन गरी विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनको मौसमसम्बन्धी निकायले चीन–नेपाल केरुङ–रसुवा सीमा क्षेत्रमा गएको भीषण पहिरोपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा सम्भावित प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको थियो।

विपद् घटेलगत्तै चीनको मौसम प्रशासनले नेपालका मौसम विज्ञान विभागसँग भिडियोमार्फत परामर्शसमेत गरेको थियो। दुवै पक्षबीचको समन्वयले सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने मौसम तथा जलविज्ञानजन्य जोखिमसम्बन्धी सूचना प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

चिनियाँ दूतावासका अनुसार आगामी दिनमा पनि आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी तथा जोखिम सूचनाको आदानप्रदानलाई निरन्तरता दिइनेछ।