काठमाडौं - दक्षिण अफ्रिकाले नेदरल्याण्डसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

जारी टी-२० विश्वकप अन्तर्गत समुह डी को खेलमा दक्षिण अफ्रीकाले नेदरल्याण्डसलाई ४ विकेटले पराजित गरेको हो । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले दिएको केवल १०४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रीकाको जितमा डेभिड मिलरले अविजित ५९ रन बनाएका थिए भने क्रिस्टन स्ट्ब्सले ३३ रन बनाएका थिए । नेदरल्याण्डसले यस खेलमा दक्षिण अफ्रिकालाई शुरुदेखि नै दबाबमा राखेको थियो । शुन्यमै पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले १२ रन बनाउदा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो । तर स्ट्ब्स र मिलरले सुझबुझपूर्ण ब्याटिंग गरेपछि जित दिलाएका थिए ।

नेदरल्याण्डसका लागि भिभीयन किन्ग्मा र लोगन भान बीकले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो । नेदरल्याण्डसका लागी साइब्राण्ड एंगेलब्रेचले ४० रन बनाएका थिए भने लोगान भन बीकले २३ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टमानले ४ विकेट लिए भने एनरीच नोकिया र मार्को जानसेनले २-२ विकेट लिएका थिए । यो जितपछि समुह डी मा दक्षिण अफ्रिकाको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको भने २ खेलमा २ अंक रहेको छ ।अब अर्को खेल दक्षिण अफ्रिकाले जुन १० मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने नेदरल्याण्डसले जुन १३ मा बंगलादेशविरुद्ध नै खेल्ने छ ।