पर्सा - पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्।

शुक्रबार राति ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहाँ मैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो निशान कारलाई जाँच गरेको थियो।

जाँचका क्रममा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए।

ती पोकाबाट प्लास्टिकसहित ११४ किलो २५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजा र कारसहित धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।