काठमाडौं - लगातारको वर्षासँगै पहिरो जाँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।

पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँका पूजा परियारको ४ वर्षीय छोरा बेपत्ता भएका छन् । पहिरोले हिउँदे खोला क्षेत्रका नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्।

बुटवल-पाल्पा सडक अवरुद्ध

पहिरोका कारण पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो । सिद्धबाबा, झुम्सा, पानी मिल, हिउदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।

वर्षा भइरहेको माथिबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा बाटो खुलाउन समय लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी ईन्सपेक्टर ज्ञानु पाण्डेले बताए । उनले स्काभेटर बोलाएर पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए ।