काठमाडौं - रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका करिब ६ सय कामदार तथा कर्मचारीको उद्धार चार दिन बितिसक्दा पनि प्रभावकारी रूपमा सुरु हुन सकेको छैन ।
आवश्यक जनशक्ति, प्राविधिक विज्ञता, उद्धार उपकरण तथा सरकारी समन्वयको अभावमा सुरुङभित्र फसेकाहरूको अवस्था अझै अन्योलमा रहेको सम्बन्धित आयोजनाहरूले बताएका छन् ।
त्रिशूली नदीको बहाव क्षेत्रका माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट), माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), लाङटाङ (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) लगायतका जलविद्युत् आयोजनाका सुरुङमा ठूलो संख्यामा कामदार तथा कर्मचारी फसेका छन्।
बाढीले आयोजनाका पहुँचमार्ग तथा संरचनामा क्षति पुर्याएपछि सुरुङभित्र पुग्नै चुनौतीपूर्ण बनेको छ। तर, उद्धारका लागि आवश्यक विशेष प्राविधिक टोली, उपकरण र दक्ष जनशक्ति परिचालन हुन नसक्दा चार दिनसम्म पनि ठोस उद्धार अभियान अघि बढ्न सकेको छैन।
गृहमन्त्री सुदन गुरुङ पुगेको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भने सुरुङको सम्भावित स्थान पत्ता लगाउने प्रयासस्वरूप करिब २० फिट खन्ने काम भएको बताइएको छ।
तर, सुरुङभित्र रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्ने उद्देश्यले अन्य आयोजनामा समेत प्रभावकारी उद्धार अभियान सञ्चालन हुन नसकेको सम्बन्धित स्रोतहरूको भनाइ छ ।
शुक्रबार गृहमन्त्री सुधन गुरुङ माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा पुगेर उद्धार प्रयासमा संलग्न भएको विषयलाई सरकारले उद्धार अभियानमा उच्च प्राथमिकता दिएको सन्देशका रूपमा प्रस्तुत गरेको थियो ।
तर, आयोजनासँग सम्बन्धित स्रोतका अनुसार सरकारको उच्चस्तरीय उपस्थिति देखिए पनि आवश्यक प्राविधिक उद्धार संयन्त्र अझै पूर्ण रूपमा परिचालन हुन सकेको छैन।

.gif)


