गुल्मी - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्लाका लागि रु १० लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री पठाएका छन् ।
जिल्लामा थर्मल गन, पिपिई, गाउनलगायत अत्यावश्यक सामग्री माग भएपछि मन्त्री ज्ञवालीले उहाँका स्वकीय सचिव जंग नेपालीमार्फत जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेका छन् । गुल्मी क्षेत्र नम्बर १ का संघीय सांसद ज्ञवालीले पठाएको सम्पूर्ण स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लाका सबै गाउँपालिका र नगरपालिका प्रमुखलाई आज हस्तान्तरण गरेका छन् ।
प्रजिअ शर्माले जिल्लामा थर्मल गन, मेडिकल पिपिई, गाउनलगायत सामग्रीको माग भइरहेका अवस्थामा जिल्लावासीको भावना र स्वास्थ्य समस्यालाई मन्त्री ज्ञवालीले सम्बोधन गरेकामा धन्यवाद ज्ञापन गरे ।
परराष्ट्रमन्त्रीद्वारा उपलब्ध गराइएका स्वास्थ्य सामग्रीमा थर्मल गन ६५ थान, पिपिई ३७ थान, गाउन ४० थान, पञ्जा नौ सय थान, एन –९५ मास्क २१० थान, सर्जिकल मास्क चौध हजार दुई सय थान, सेनिटाइजर ७८ लिटर तथा स्प्रे, क्यापलगायत छन् ।
यसअघि गुल्मी क्षेत्र नम्बर २ का सङ्घीय सांसद गोकर्ण विष्टले जिल्लामा तीन सय थान पिपिई उपलब्ध गराएका थिए ।

.gif)


