सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख जोशीले सोही मितिदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेका छन्।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक प्रदेश सभा सदस्यले साउन १२ गते साँझ ५ बजेसम्म आफ्नो दाबी पेश गर्नुपर्नेछ।

.gif)



