काठमाडौ - मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ।

मृतकका परिवारका अनुसार मंगलबार बिहान नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ताले उनलाई अपहरण गरेर घर नजिकैको बर्खे जंगलमा लगेका थिए । श्रेष्ठ सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

घरबाट अपहरण गरेर लगेको केही समयमा जंगलबाट ठुलो आवाज आएको थियो । श्रेष्ठलाई विप्लव समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।

त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयले अनुमान गरे । र, प्रहरीले पनि त्यही सूचना दिएको थियो ।

तर, घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार शिक्षक श्रेष्ठको आधा घाँटी रेटिएको अवस्थामा शव फेला परेको बताए । श्रेष्ठको हत्यापछि विप्लव समूहले गाउँले र सुरक्षाकर्मीलाई त्रसित बनाउन हवाई फायर गरेको हुनसक्ने अनुमान गरिएको छ ।

शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ।