काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ। 

केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बैठक केही समयअघिबाट बसेको हो।

हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधि तर्जुमा तथा परिमार्जन, संगठन व्यवस्थापन, मनोनयन, आगामी अभियान तथा कार्यक्रमलगायत विषयमा छलफल भइरहेको पार्टीले जनाएको छ।

बैठकको सुरुआतमा सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए।

संशोधित विधानअनुसार रास्वपाको १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। हालसम्म सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने बाँकी ५१ सदस्य मनोनयन गर्ने अधिकार सभापतिलाई छ।

स्रोतका अनुसार मनोनयन प्रक्रिया पूरा हुन बाँकी रहेकाले केन्द्रीय समितिले पूर्णता पाउन अझै १५–२० दिन लाग्न सक्ने अनुमान गरिएको छ।