काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग महिला उद्यमशीलता र नीतिगत सुधारका विषयमा छलफल गर्ने भएका छन्। बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि तथा व्यवसायमैत्री नीति निर्माणका विषयमा छलफल हुने जनाइएको छ।

छलफलमा महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।यसअघि बुधबार प्रधानमन्त्री शाहले होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका थिए ।  त्यसअघि प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी पनि छलफल गरेका थिए ।  विकास निर्माणको क्षेत्रमा देखिएका समस्या, समाधान, सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग निरन्तर संवादलाई तीव्रता दिएका छन्।