काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकटबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिएका छन्।

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे प्रधानसेनापति सिग्देलसँग जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

साथै,छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। उनले सबै सुरक्षा निकायलाई २४सै घण्टा उच्च सतर्कताका साथ परिचालन हुन समेत निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने भएका छन्।

त्यसैगरी, उनले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत ब्रिफिङ लिने कार्यक्रम रहेको छ।