काठमाडौं - समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले दसैँपछि सरकार छाड्ने संकेत गरेका छन् ।संविधान दिवसको पूर्वसन्ध्यामा विहीबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै डा। भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले भने, ‘फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौँ ।’ पार्टी एकीकरण र समायोजनका बाँकी कामहरु सकेर संविधान संशोधनका लागि अल्टिमेटम दिएर सरकारबाट बाहिर निस्कने पार्टीको योजना डा। भट्टराईले सुनाए ।

पूर्वसहमतिअनुसार सरकार संविधान संशोधन गर्दै संविधानलाई पूर्णता दिन गम्भीर नभएको उनको आरोप थियो । ‘सरकार संविधान संशोधनप्रति गम्भीर छैन, हामीले यो थाहा पाइसकेका छौँ,’ उनले भने ।

उनले समाजवादी पार्टी मुद्दामा आधारित पार्टी भएकोले सरकारमा टाँसिएर नबस्ने बताए । ‘समाजवादी पार्टी मिसन र मुद्दामा आधारित पार्टी भएकोले मिसन पूरा नभए सरकारमा टाँसिएर बस्दैनौं ।’

उनले संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको भन्दै प्रक्रिया ऐतिहासिक भए पनि अन्तरवस्तुमा कमिकमजोरी रहेको बताए । ‘संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना हो,’ उनले भने, ‘यसमा धेरै राम्रा र प्रगतिशील कुराहरु पनि छन् तर, प्रक्रिया ऐतिहासिक हुँदाहुँदै पनि अन्तरवस्तुमा केही कमिकमजोरीहरु पनि छन् ।’

अध्यक्ष भट्टराईले अहिलेको संविधानमा मुलतः चार कुराहरु अपूर्ण रहेको बताए । ‘मुख्य विवाद जुन जुन विषयमा थियो त्यहीँ कमजोरी छन्, राज्य पुनर्संरचना गर्दा सीमांकनको कुरामा कमजोरी भएको छ, समिती र आयोगले पहिचान र सामर्थ्यको ५र४ आधार प्रस्तुत गरे पनि तदनुरुप सीमांकन भएन,’ उनले भने, ‘निर्वाचन प्रणालीमा विवादका कारण शासकीय स्वरुपमा समस्या छ, न्यापालिकाको पुनर्संरचना गर्न संवैधानिक अदालत स्थापना गर्ने कुरामा विवाद थिए र धर्मनिरपेरक्षताको कुरामा समस्या छन् ।’ अहिलेको संघीयता न हाँसको चाल न कौवाको चाल भनेजस्तो भएको उनले गुनासो गरे ।

उनले शासकीय स्वरुपमा प्रचण्डले अडान छाडेको आरोप लगाए । ‘धर्मनिरपेक्षतामा पनि विवाद थियो, पछि स्पष्टीकरण नै राखियो, सनातन भनेको हिन्दूमात्रै हैन किराँत, बौद्ध, बोन, ५०० वर्षअघिका मुस्लिम सबै पर्छ भन्ने अर्थमा राखिएको थियो,’ उनले भने ।

अहिलेको संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णतालाई पूरा गरौं भन्ने आफ्नो त्यतिबेलादेखिको अडान अहिलेसम्म कायम रहेको उनले स्पष्ट पारे ।

स्थिरता भनेको मुर्दा शान्ति होइन भन्दै अध्यक्ष भट्टराईले जनताको लोकतान्त्रिक अधिकारसहितको प्रगति नै शान्ति भएकोमा जोड दिए ।‘संविधान पूरै उल्ट्याउने भनिएको हैन, संशोधन गर्ने भन्ने हो,’ उनले भने, ‘उपेन्द्रजीहरु त्यतिबेला कालो दिवस भन्नुहुन्थ्यो अहिले आधा भरी, आधा खाली भन्नुहुन्छ । हाम्रो सबैको एउटै भनाई हो ।’

नयाँ संविधान जारी हुँदा आफू सबैभन्दा खुसी रहेको उनले स्मरण गरे । ‘म सबभन्दा खुशी छु । तर सबैको स्वीकार्यताको लागि मैले संविधानको पूर्णताको कुरा अगाडि सारेको हुँ । हिमाल पहाड र तराई मधेश सबै एक भए भने मात्रै समृद्धि हुन्छ । मेरो अडान समृद्धिका लागि पनि हो,’ उनले भने ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका डा। भट्टराईले नेपालको वर्तमान संविधानलाई ‘आधा गिलास भरी, आधा गिलास खाली’को संज्ञा दिँदै आएका छन् । उनले नेतृत्व गरेको समाजवादी पार्टीले असोज ३ गतेको संविधान दिवसमा दिपावली पनि नगर्ने र कालो दिवस पनि नभन्ने बीचको रणनीति अगाडि सारेको छ ।