काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विहीबार पदाधिकारी बैठक बोलाएकोछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजय गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

अख्तियारले पार्टी उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेस असन्तुष्ट बनेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नु पर्ने कदमका विषयमा छलफल भइरहेको बताइएको छ ।

सभापति देउवाले उक्त विषयमा छलफलका लागि पार्टीका शीर्ष नेतृत्व र कानुन व्यवसायीहरुलाई पनि बैठकमा आमन्त्रण गरेका छन् ।

अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि बुधबार साँझ प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता शर्माले घटनाको सांकेतिक विरोध गरेका थिए । उनले ट्वीट सन्देशमार्फत लेखेका थिए, ‘माधवकुमार नेपालको पालामा नीतिगत निर्णय, एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? विजय गच्छदारलाई !’ उनले जर्ज अर्बेलको एनिमल फार्म सम्झँदै लेखेका थिए,’सबै जनावरहरु बराबर छन् तर केही अरुभन्दा बढी समान् छन् ।’