बुटवल – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रिमण्डल फेरिने सम्भावना नरहेको दाबी गरेका छन् । मन्त्रीहरु फेरिने भनेर बाहिर आएजस्तो हल्ला भित्र नभएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुँदैन, अरुलाइ पनि पालो दिनुपर्छ, मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै टेन्सन छैन,’ मन्त्री खनालले भने ।

बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले भने, ‘पार्टीमा गज्याङमज्याङ छ, वैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ । जबज र २१ शताब्दीको जनवाद दुइवटैको परिमार्जन रुप नै जनताको जनवाद हो अब यसैलाइ लिएर अघि बढ्न सकिन्छ । ’

मन्त्री फेरिने हल्ला धेरै भएपनि त्यो सम्भावना तत्काल नभएको प्रधानमन्त्रीले स्वायम्ले बताएको  भन्दै मन्त्री खनालले तत्कालीन अवस्थामा दुई पार्टीबीच पार्टी एकता पनि गर्ने, सरकारको नेतृत्व आलोपालो गर्ने भनिएपनि अहिल्यै त्यो अवस्था भैनसकेको बताए ।

उनले नेकपा टुक्रिने हल्ला पनि सत्य नभएको भन्दै त्यस्तो कल्पना पनि गर्न नसकिने बताए ।पार्टी एकतापछि ३ वटा कुरा चर्चामा रहेको भन्दै खनालले भने, ‘वैचारिक एकता,साङ्गठानिकका कुरा, सरकार र नेतृत्व आलोपालो ।’

कृषिमा सुधार गर्ने दावी

मन्त्री खनालले कृषिमा व्यापक सुधार गर्ने गरी सरकारले काम गरेको दाबी पनि गरे ।सरकारले कृषिमा छुट्याएको २८ अर्ब बजेटमध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उनले पूँजीगत बजेट २ अर्ब रहेको जानकारी दिए ।उनले खाद्य, प्लान्ट, पशु क्वारेन्टाइनको रिर्पोटपछि भन्सार हुनुपर्ने भन्दै भन्सारमा दलालको बिगबिगी रहेको स्वीकारे ।