काठमाडौं - गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुन ७५ हजार जरिवानासहित १० वर्ष कैद बस्नुपर्ने भएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार यस्तो फैसला गरेको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले उनलाई लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।

अदालतको फैसलाअनुसार उनलाई कैद र जरिवाना सजायँ दुवै भोग्नुपर्ने भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ । उनलाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको थियो ।

नेपाली सेनाको रेन्जरगणका सिपाही रहेकै बेला आपराधिक गतिविधिमा लागेका पौडेलले संकटकालका बेला सेनाको जागिर छाडेका थिए । त्यसपछि गुण्डागर्दीमा लागेका उनी रामेछापको दुरागाउँ गाविस वडा नम्बर ७ का स्थायी बासिन्दा हुन् ।

नाम बाहुन डन भए पनि उनी बास्तविक बाहुन भने होइनन् । पौडेल थर रहेका उनी क्षेत्री हुन् । यद्यपि, अपराधको दुनियाँमा उनी बाहुन डनका नामले चर्चित छन् ।

प्रहरीको खोजीकै सूचीमा रहेका बेला कुनैबेला रामेछापको मन्थलीमा तत्कालीन एमालेको आमसभाबाटै केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेका थिए । एमाले नेता ओलीले उनीजस्ता युवाहरुको संरक्षण गर्ने बताएका थिए । अहिले केपी ओली नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री पदमा छन् । तर उनी १० वर्ष जेलमा बस्ने भएका छन् ।