काठमाडौं । भोटेकोशी बाढीले पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट पानी पम्पिङ गरेर बाहिर निकाल्ने काम सुरु गरिएको छ। 

सुरुङभित्र ४२ जना फसेको आशंकामा उद्धार टोलीले रातभरदेखि निरन्तर प्रयास गरिरहेको छ।

आज बिहान करिब ३ बजे विस्फोट गराएर सुरुङको मुख खोलिएपछि भित्र पानी भरिएको पाइएको थियो। त्यसपछि वाटर पम्पसेट प्रयोग गरी पानी बाहिर निकाल्न थालिएको हो।

पानी निकाल्ने गति बढाउन ठूलो क्षमताका थप डीजी सेट र पम्पसेटसहितका उपकरण घटनास्थलमा पुर्‍याइएको छ। सुरुङको प्रवेशद्वारमा थुप्रिएको ढुंगा–माटो हटाएर उद्धार टोलीलाई भित्र पस्ने बाटो बनाउने काम पनि तीव्र पारिएको छ।

उद्धारका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसहित नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारी, भूगर्भविद् तथा प्राविधिक विज्ञहरूको टोली घटनास्थलमा परिचालन भएको छ।

उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन विज्ञ टोलीले सुरुङको अवस्था अध्ययन गर्दै थप वैकल्पिक उपायसमेत खोजिरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार दिउँसो उद्धार टोलीले सुरुङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको थियो ।

उक्त प्वालबाट उद्धारकर्मीहरू डोरीको सहायताले ‘र्‍यापेल’ गर्दै सुरुङको तल्लो भागसम्म पुगेका थिए। तर, भित्र पसेर पटक–पटक आवाज दिँदा र बोलाउँदा पनि सुरुङभित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभए ब्लास्टिङ गरिएको थियो ।

उद्धार कार्यमा इन्जिनियरसहित नेपाली सेनाका, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका र नेपाल प्रहरी खटिएका छन्।