काठमाडौं - एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत आज मलेसियाको वाईएसडी युकेएम ओभल, बांगीमा जारी खेलमा नेपालको स्पिनर तथा तीव्र गतिमा बलरहरूको घातक प्रदर्शनका कारण बहराइन ८७ रनमै अलआउट भएको छ।

टस जितेर पहिले फिल्डिङ गर्ने नेपालका कप्तानको निर्णयलाई सही साबित गर्दै नेपाली बलरहरूले बहराइनलाई ३६.२ ओभरमा ८७ रनमै सीमित गरिदिए। 

बहराइनका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। उसका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। यस्तै, मोहम्मद वासिमले १३, अली दाउदले १० रन जोडे भने अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए। उनले १० ओभरमा ४ मेडन राख्दै मात्र १४ रन खर्चिए। 

ललित राजवंशीले ६.२ ओभरमा २० रन दिएर ३ विकेट हात पारे भने तीव्र गतिका बलर करण केसीले ८ ओभरमा ४ मेडन राख्दै १४ रन खर्चेर २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले विकेट लिन नसके पनि बहराइनका ब्याटरहरूलाई दबाबमा राखेका थिए।

८८ रनको झिनो लक्ष्य पछ्याउन नेपाल केही बेरमा जवाफी ब्याटिङका लागि मैदान उत्रँदैछ।