काठमाडौं - स्नेहाज केयर र नेपाल भेटेरीनरी एसोसियशनले सुर्खेतको जंगलमा गाईगोरु मारिएको र खोटाङमा सामुदायिक कुकुरहरुलाई सामूहिक रुपमा मारिएको घटनाको गम्भीर ध्यानाकर्षण गरेको छ । 

दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामूहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाइएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरिनरी एसोसियशनले यस्तो ध्यानाकार्षण गराएका हुन् ।

संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ । हामी यी दुवै घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डाक्टर वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानुन निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिइने बताए । पछिल्लो समय पशुमाथि भएको निर्दयी र निर्मम घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘यो घटनामा संलग्न दोषीमाथि सरकारले कारबाही गर्नुपर्छ । हामी आफ्नो तर्फबाट दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछौँ ।

त्यस्तै स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । उनले नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएर विश्व समुदायसँग गरेका प्रतिबद्धता तथा हस्ताक्षर गरिएका सम्झौताहरुको विपरीत हुनेगरी यस्ता गैरजिम्मेवार क्रियाकलापले राज्य संयन्त्रहरुको आपसी तालमेल कतिसम्म धराशयी छ भन्ने प्रष्ट पारेको बताए

कार्यक्रममा कृषि तथा पशुपछी विकास मन्त्रालयका पूर्व सचिव डाक्टर कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दीर्घकालीन समाधानको बाटो खोज्न सुझाव दिए ।  

त्यस्तै अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याण सम्बन्धमा रहेका कानुनी व्यवस्था र प्रावधानहरु परिपालन हुनुपर्ने बताए । 

‘एक्काइसौँ शताब्दीमा पनि ढुङ्गे युगको मानसिकता बोकेर हिँडिरहेका नीति निर्माताहरु तथा जिम्मेवार व्यक्तिहरुको प्रशंसाका लागि हामीसँग कुनै शब्द छैन । यी यावत समस्याहरु उनीहरुकै कारण त सिर्जना भएको हैन ? भन्ने प्रश्न आम जनमानसमा पैदा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।