काठमाडौं - नेपालका सबै स्थानीय तहमा ‘क’ वर्गका (वाणिज्य) बैंक पुगेका छन् । सोमबार बझाङको उत्तरपूर्व साइपाल गाउँपालिका–१ स्थित धलौनमा ७५३औँ स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको हो । एभरेस्ट बैंक लिमिटेडको शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बझाङ पुगेका थिए ।

उनले साइपाल गाउँपालिकामा एभरेस्ट बैंक लिमिटेडको शाखा उद्घाटन गरे । योसँगै सबै स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ । एभरेस्ट बैंकको यो १२९औँ शाखा कार्यालय हो ।

यसअघि ७५२ वटा पालिकामा मात्रै बैंकिङ पहुँच पुगेको थियो भने भौगोलिक कठिनाइका कारण उक्त गाउँपालिकामा कुनै पनि बैंकका शाखा पुग्न सकेका थिएन । शाखा उद्घाटन समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशबबहादुर केसी पनि उपस्थित थिए ।

त्यस्तै, साइपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरू, एभरेस्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्ज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरूलगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।