काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा फसेकाहरूको उद्धारका लागि प्रवेशद्वार क्षेत्रमा सरसफाइ तथा अवरोध हटाउने काम तीव्र पारिएको छ ।

उद्धार टोलीले १६० मिटर लामो केबल डक्ट टनेलको मुखको निकास क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाएको छ।

आयोजनामा खटिएका प्राविधिक इञ्जिनियर श्रीराम न्यौपानेका अनुसार भदौ १३ गतेदेखि दुईवटा एक्स्काभेटर नियमित परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको हो।

ठूला ढुंगा तथा अन्य अवरोध हटाउन आवश्यकताअनुसार ब्रेकर प्रयोग भइरहेको छ भने ठूला बोल्डरलाई नियन्त्रित रूपमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने काम चौबीसै घण्टा भइरहेको न्यौपानेले जानकारी दिए।

हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २।५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरिएको छ। ५।५ मिटर अग्लो सुरुङमा बाँकी करिब ३ मिटर गहिराइको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने उनको भनाइ छ।