सीमा समस्या अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छैनः प्रचण्ड
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक नरहेको बताएका छन् । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले भने, ‘अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छैन। अहिले वार्ताबाट नै समस्या समाधान गरौं । त्यसबाट हल भएन भने त्यतिबेला सोचौंला ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालले आफ्नो एक इन्च पनि जमिन नछाड्ने बताए । ‘हामी १ इन्च जमिन छोड्न सक्दैनौं, अरुको १ इन्च जमिन चाहिएन’, उनले भने, ‘यो विषय राजनीतिक र कूटनीतिक माध्यमबाट हल गर्नुपर्छ । हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रष्ट हुनुपर्छ ।’
अध्यक्ष दाहालले भारतले कालापानी, लिम्यिाधुरामा र लिपुलेकमाथि गरेको अतिक्रमणको समस्या अब राजनीतिक तहबाट हल गरिनुपर्ने धारणा राखे । उनले अब देशभित्र यसबारेमा लामो छलफलको जरुरी नरहेको पनि उल्लेख गरे । ‘यसमा धेरै लामो छलफल गर्नुपर्ने जरुरी छैन। सीमासम्बन्धी समस्या भारतसँग लामो समयदेखि चलेको हो । पटक पटक नेपालका प्रधानमन्त्रीबाट भएको भ्रमणमा पनि यो विषय आउने गरेको हो ।’
धेरै ठाउँमा सिमानाबारे समझदारी भए पनि कालापानी र सुस्ताको समस्या भने समाधान हुन नसकेको उनले स्पष्ट पारे । अध्यक्ष दाहालले अहिले भारतले नयाँ नक्सा सार्वजनिक गर्नु नेपालका लागि नकारात्मक रूपमा भएपनि अनुकुल रहेको बताए । ‘अब समस्या समाधान गर्नुपर्छ। भारतसँग भएको महाकाली सन्धिमा सीमानदी महाकालीको पानी आधीआधी गरौं भन्ने भएकाले हामी तथ्यमा बलियो छौँ ।’
अहिलेसम्म भारतसँग सीमा समस्या दुवै देशमा अस्थिर सरार भएकोले समाधान नभएको उनको तर्क थियो । ‘दुवै देशमा अस्थिर सरकार हुँदा पनि समस्या भएको हो,’ उनले भने, ‘यहीकारण यो मुद्दा अड्किएको हो । आजको अवस्थामा नेपालमा पनि बहुमत सरकार छ भारतमा पनि ।’
दुवै देशमा बलियो राजनीतिक स्थिति रहेको बताउँदै प्रचण्डले अब यसलाई नेपालको अनुकूलमा प्रयोग गरिनुपर्नेमा उनको जोड थियो । ‘यो अवस्था अनुकूल अवस्था हो। हिजोदेखिका जेजति समस्या थिए, अब समाधान गरिनुपर्छ,’ उनले भने, ‘अब जनताको जागरण पनि धेरै माथि आएको छ। राष्ट्रिय समझदारी र सहमतिको वातावरण बनेको छ। यो तागतलाई प्रयोग गरेर भारतसँग राजनीतिक, कूटनीतिक पहल र वार्ताबाट यसको समाधान गरिनुपर्छ।’
फेसबुक पेज Like गर्नुहोस