काठमाडौं - प्रतिनिधिसभाको बैठकमा बुधबार प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले प्रश्न सोध्दैछन्।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने छन्। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले पनि प्रश्न राख्ने छन्।

नेकपाका तर्फबाट सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछिन्। श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राईले प्रश्न गर्नेछन्।

सांसदहरूले सोध्न चाहेको प्रश्न संसद् सचिवालयमा दर्ता गरिसकेका छन् । यसअघि भदौ १ गतेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका थिए। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ।

यो व्यवस्थाअनुसार सांसदले पहिलोपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न लागेका हुन्।