काठमाडौं - सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सेवा प्रदायकलाई कडा चेतावनी दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रियामा मन्त्री तिमिल्सिनाले गुणस्तरीय दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले कुनै पनि पक्ष जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।
उनले लामो समयसम्म सेवा विस्तार र पहुँचमा केन्द्रित हुँदा गुणस्तरको पक्ष ओझेलमा परेको उल्लेख गर्दै राजधानी काठमाडौंमै फोन सम्पर्क स्थापित हुन नसक्नु र उपभोक्ताले प्रतिबद्धताअनुसार इन्टरनेट गति नपाउनु गम्भीर समस्या भएको बताए ।
सेवा प्रदायकलाई कडा सन्देश दिँदै उनले भने, ‘मिलाएर कमाउने दिन गयो, अब काम गरेर, अकाउन्टबिलिटी देखाएर, क्वालिटी अफ सर्भिस दिएर, जे गर्छु भनेको थियो त्यो गरेर पैसा कमाउन सक्नुहुन्छ ।’
कानुन, नियामक निकाय, सरकार वा उपभोक्तालाई चुनौती दिने सेवा प्रदायकका लागि गलत दिन आउन लागेको चेतावनीसमेत उनले दिए ।
उनले भने, ‘यदि तपाईंले कानुनलाई च्यालेन्ज गरिरहनुभएको छ, नियामकलाई च्यालेन्ज गरिरहनुभएको छ, सरकारलाई च्यालेन्ज गरिरहनुभएको छ अथवा उपभोक्तालाई च्यालेन्ज गरिरहनुभएको छ भने तपाईंको गलत दिन आउनेवाला छ।’

.gif)


