लकडाउन डिस्काउन्टले टेलिकमको नाफा घट्यो
काठमाडौं - नेपाल टेलिकमले चालू आवको तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ४ दशमलव २७ प्रतिशतले घट्न पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा ७ अर्ब ९० करोड ३७ लाखभन्दा बढी नाफा गरेको थियो ।
गत वर्ष टेलिकमले कुल सेवाबापत २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेकामा यस त्रैमासमा २६ अर्ब ८३ रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीले चैत १ देखि रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्दा गत आवको कुल आयको तुलनामा सेवाबापतको आय घट्न पुगेको कम्पनीले जनाएको छ । चालू आवको तेस्रो त्रैमाससम्म यस्तो डिस्काउन्ट रकम कुल ८५ करोड ३३ लाख रहेको छ ।
त्यस्तै, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चैत ११ देखि घोषणा गरिएको लकडाउनका कारणले चैत महिनाको राजस्वमा नकारात्मक असर परेको कम्पनीले बताएको छ
। लकडाउनको अवधिमा चैतमा मात्र कम्पनीले टपअपमा प्रदान गरेको १ सय बोनस रकम कुल ५३ करोड ४ लाखबराबरको हुन्छ । सोही अवधिमा शून्य ब्यालेन्स भएका ग्राहकलाई ५ करोड ३ लाखबराबरको जिरो ब्यालेन्स प्याकेज प्रदान गरेको कम्पनीले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस