सिरहा - सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई औरही गाउँपालिकाले राहतस्वरूप १० लाख रुपैयाँ दिने भएको छ।

शुक्रबार गाउँपालिकाले सूचना जारी गर्दै मृतक गणेशका परिवारलाई उक्त राहत रकम प्रदान गर्ने निर्णय गरेको जनाएको हो।

औरही गाउँपालिका–२, तुलसीपुर–मोतिपुर निवासी गणेशको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो।

गाउँपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै राहत रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए । जसमध्ये १० जना युवालाई गोली लागेको थियो । 

यसैको विरोधमा मधेश प्रदेशभर तनाव चुलिँदा सिरहाको गोलबजारमा बिहीबार प्रदर्शन भएको थियो । प्रदर्शनमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको थियो ।

त्यसक्रममा गणेशको मृत्यु भएको थियो भने स्थानिय विकास ठाकुर घाइते भएका थिए ।